नेपाली श्रमिकहरूकाो हकहित प्रवर्व्दन कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई कुवेतको श्रम तथा अध्यागमन कानुनका महत्वपूर्ण पक्षहरू एवं श्रमिकका विविध जटिल समस्याहरूको कानुनी उपचार एवं अन्य समाधानका उपायहरूका बारेमा जानकारी प्रदान गरी उनीहरूको रोजगारलार्इ फलदायी बनाउने उदेश्यले राजदूतावासमा अस्ति शुक्रबार नेपाली श्रमिकहरूको हकहित प्रवर्ध्दन एवं समस्या समाधान विषयक एक अन्तरकृया कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा कुवेतका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरू, रोजगारदाता कम्पनीका व्यवस्थापकहरू, कुवेतका कानून व्यवसायी, गैर आवासीय नेपाली संघ सहित नेपाली संघसंस्थाका प्रतिनिधिहरू एवं स्थानीय पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै महामहिम राजदूत श्री यज्ञ बहादुर हमालले कुवेतमा कार्यरत नेपाली श्रमिकहरूका विभिन्न गम्भीर र जटिल प्रकृतिका समस्याहरू राजदूतावासले उच्च प्राथमिकताका साथ समाधान गरिदिनुका साथै अन्य सेवाहरू सरल, शीघ्र एवं प्रभावकारी ढंगबाट प्रदान गर्दै आएको बताउनुभयो । सो अवसरमा वहाँले नेपाली श्रमिकहरूको रोजगारलार्इ सम्मानित र फलदायी बनाउन वैदेशिक रोजगारमा आउनुअघि नेपाली कामदारहरूलाई दिइने अभिमुखीकरण तालिममा श्रम गन्तब्य मुलुकको भाषा, भूगोल, श्रम कानुन तथा अन्य सामाजिक, सास्कृतिक पक्षहरूको बारेमा बिस्तृत रूपमा र गहन ढंगबाट जानकारी प्रदान गरेर प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । साथै, उहांले कुवेतमा विगतका बर्षहरूमा घाइते भएका एवं मृत्यु भएका नेपाली श्रमिकहरूका कानुनी हकदारहरूलार्इ क्षतिपूर्ति उपलव्ध गराउनका लागि आफूले गरेको विशेष पहल तथा निरन्तरको कार्यको फलस्वरूप आफनो कार्यकालमा झण्डै बीस करोड नेपाली रूपैयां उनीहरूले पाउने गरी नेपाल पठाइ सकिएको बताउनुभयो ।

राजदूतावासका मिनिष्टर काउन्सिलर श्री प्रकाशमणि पौडेलले सम्पूर्ण सहभागीहरूलाई कार्यक्रममा स्वागत गर्दै नेपाली कामदारहरूले आफ्नो पेशागत ज्ञान, सीप बढाइ वैदेशिक रोजगारबाट अधिकतम लाभ लिन प्रयासरत रहनुपर्ने बताउनुभयो । त्यसै गरी राजदूतावासका द्वितीय सचिव श्री ज्ञान बहादुर मगरले कुवेतको श्रम कानुनमा भएका श्रमिकका हकअधिकार, अध्यागमन कानुन तथा श्रमिकहरूका लागि उपयोगी अन्य जानकारीहरू समेटिएको प्रस्तुतीकरण (Power Point Presentation) गर्नुभएको थियो । राजदूतावासका तृतीय सचिव श्री मनोज कुमार सिंहले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहभागी नेपाली कामदारहरूलाई राजदूतावासबाट प्रकाशित श्रमिकको साथी नामक पुस्तिका समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा कुवेतको Yousef Ahmed Alghanim and Sons company, M.H. Alshaya company र Almulla Cleaning & Maintenance Company का ब्यवस्थापकहरू क्रमशः Ms. Lilian Youssef, Mr. Hasem Ali र Mr. Ganesan Iyer ले नेपाली कामदारहरू इमान्दार, मिहिनेती रहेको र तल्लो तहदेखि ब्यवस्थापनतहसम्म काम गरीरहेको बताउँदै भविष्यमा नेपालबाट थप कामदारहरू ल्याउन इच्छुक रहेको बताउनु भएको थियो । साथै, कुवेती वकिल Mr. Mohamed Al-Enezi ले क्षतिपूर्ति एवं कानुनी हक प्राप्तिका लागि कामदारहरूले प्रमाणहरू सुरक्षित राख्नुपर्ने र जतिसक्दो चाँडो कानुनी प्रकृया अघि बढाउनुपर्ने लगायतका महत्वपूर्ण कानुनी परामर्श दिनु भएको थियो ।

कार्यक्रममा सहभागी नेपाली श्रमिकहरूको तर्फबाट रोजगारका क्रममा आफूले भोग्नु परेको समस्याहरुको बारेमा जानकारी गराउंनुका साथै कुवेतको श्रम, अध्यागमन कानुन लगायत अन्य सान्दर्भिक विषयहरूमा विविध जिज्ञासाहरू राखिएको थियो र राजदूतावासका कर्मचारीहरूबाट त्यस सम्बन्धमा प्रत्यूतर तथा सुझाव प्रदान गरिएको थियो ।

२०७५ पुस २९ गते (जनवरी १३, २०१९)