संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७६ स्वागत समारोह सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

संविधान दिवस तथा राष्ट्रिय दिवस—२०७६ को अवसरमा यस राजदूतावासद्वारा कुवेतको क्राउन प्लाजा होटेलमा हिजो साँझ एक भब्य कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कुवेत सरकार, परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Asia Affairs महामहिम श्री अलि सुलेमान अल—सइद उपस्थित हुनुभएको थियो । साथै कुवेत सरकारका अन्य उच्चपदस्थ पदाधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूत एवं नियोग प्रमुखहरू तथा उहाँहरुका धर्मपत्नीहरु, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संगठनका प्रमुख/ प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय महिला समूहका सदस्यहरु, कुवेती उद्योगी, व्यवसायी, दूतावास परिवार, संचारकर्मीहरु एवं नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत महामहिम श्री दुर्गाप्रसाद भण्डारीले उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । प्रमुख अतिथिको आगमनमा पंचैबाजा बजार्इ स्वागत गरिएको थियो । नेपाल र कुवेतको राष्ट्रिय धुन बजाई शुभारम्भ गरिएको उक्त कार्यक्रमलार्इ कुवेतका लागि नेपाली राजदूत महामहिम श्री भण्डारीले संवोधन गर्नुभएको थियो । तत्पश्चात प्रमुख अतिथि महामहिम श्री अलि सुलेमान अल—सइदका साथमा महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी तथा उहाँकी धर्मपत्नी श्रीमती विन्ध्या भण्डारीद्वारा संयुक्तरुपमा केक काट्ने कार्य सम्पन्न भएको थियो ।

महामहिम राजदूतले संवोधनका क्रममा, २० सेप्टेम्बर, २०१५ मा नेपाली जनताले आफूद्वारा निर्वाचित जनप्रतिनिधिहरूबाट लिखित संविधान प्राप्त गरेको र तत्पश्चात सन् २०१६ देखि उक्त दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको जानकारी गराउनुभयो । उहाँले संविधानको प्रमुख विशेषताहरुको चर्चा गर्दै सन् २०१७ मा सम्पन्न तीनै तहको निर्वाचन पश्चात नेपालले राजनीतिक स्थायित्व प्राप्त गरिसकेको र देशमा शान्ति पुनर्वहाली भएको जानकारी गराउनुभयो । उहाँले देशको प्राथमिकता अब आर्थिक बिकासमा केन्द्रित भएको विचार राख्नुहुँदै “संमृद्ध नेपाल, सुखी नेपाली” को आकांक्षा परिपूर्तिका लागि सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

नेपाल र कुवेत बीच रहिआएको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै उहाँले उच्चस्तरमा भर्इरहेका भ्रमणहरूको आदानप्रदान, नेपालका विकास परियोजनाहरूमा कुवेतबाट प्राप्त सहयोग तथा स्थापित द्विपक्षीय संयन्त्रहरूलार्इ थप प्रभावकारी बनाउन दुवैपक्षबाट भर्इरहेका कामकारवाहीले दुर्इ देशबीचको सम्बन्धलार्इ थप सुदृढ र गतिशिल बनाउदै लगेको विचार व्यक्त गर्नुभयो । यस दिशामा कुवेतमा कार्यरत नेपालीहरूले दुर्इ देशबीचको सम्बन्धलार्इ थप मजबुत बनाउन सहयोग पुर्याएको उल्लेख गर्दै कुवेती नागरिकहरूको नेपालप्रतिको आकर्षण बढ्दो क्रममा रहेको विचार राख्नुभयो । साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा साझा चासोका विषयमा दुवै देशबीच सहकार्य रहिआएको तथ्यलार्इ उहाँले प्रकाश पार्नुभयो ।

उहाँले विभिन्न नीतिगत, कानूनी, संस्थागत तथा प्रक्रियागत सुधार कार्यहरू भएकाले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको जानकारी गराउँदै नेपालका प्राथमिकतामा परेका जलविद्युत, पूर्वाधार विकास, पर्यटन, कृषि, मानव श्रोतको विकास लगायत अन्य क्षेत्रहरूमा लगानी गर्न समेत कुवेती लगानीकर्ताहरूलार्इ आह्वान गर्नुभयो । नेपालले २०२० लार्इ Æनेपाल भ्रमण वर्षÆ को रूपमा मनाउन लागिरहेको जानकारी गराउदै उहाँले नेपाल पर्यटकहरूको लागि एक आकर्षक गन्तव्य मुलुक भएको कुरा उल्लेख गर्नुभयो। साथै, उहाँले कुवेती नागरिकहरूलार्इ नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नुभयो ।

कार्यक्रमस्थलमा नेपालको प्राकृतिक सौन्दर्य, कला, संस्कृति झल्कने तस्विरहरूको प्रदर्शनी तथा नेपालमा उत्पादित निर्यातयोग्य सामाग्रीहरू र लगानीका प्रमुख क्षेत्रहरू समेटिएको श्रव्यदृश्य सामग्रीको प्रस्तुति गरिएको थियो । उक्त अवसरमा नेपाली घरेलु तथा अन्य उत्पादनका सामाग्रीहरू प्रर्दशनीका लागि एक छुट्टै स्टल समेत राखी अतिथिहरूलार्इ जानकारी दिने कार्य भएको थियो । कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुबाट लोक नृत्य, सांगितिक धुन, नेपाली बाजागाजा प्रस्तुत गरिनुका साथै नेपाली परिकार प्रवर्द्धनका लागि छुट्टै स्टलको व्यवस्था गरिएको थियो ।

कार्यक्रम सहभागीहरुको रुचिपूर्ण सहभागिता सहित भब्यतापूर्वक सम्पन्न भएको थियो ।

२०७६ असोज ८