नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न ।
————————————————————————
कुवेतका लागि नेपाली राजदूत महामहिम श्री दुर्गा प्रसाद भण्डारी तथा उहाँकी धर्मपत्नी श्रीमती विन्ध्या भण्डारीले नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को उपलक्ष्यमा हिजो साँझ कुवेतको होटल क्राउन प्लाजामा एक स्वागत समारोहको आयोजना गर्नु भयो। कार्यक्रममा कुवेत सरकार परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Economic Affairs His Excellency Sami Abdulaziz Al Hamad प्रमुख अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो।नेपाल र कुवेत दुवै देशका राष्ट्रिय धुन बजाई शुभारम्भ भएको कार्यक्रमका प्रमुख अतिथि, महामहिम राजदूत र उहाँकी धर्मपत्नीद्वारा संयुक्त रुपमा केक काटी कार्यक्रम अघि बढाइएको थियो। कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै महामहिम राजदूतले नेपालको संविधान, यसका विशेषता, नेपालको राष्ट्रिय दिवस लगायतका विषयमा प्रकाश पार्नुभएको थियो। उहाँले यस शुभ अवसरमा आफ्नो कार्यक्षेत्रमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नु भयो।
उहाँले नयाँ संविधानको घोषणासँगै नेपालबाट एकात्मक एवं केन्द्रीकृत शासन व्यवस्था समाप्त भई देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको कुरा बताउनु भयो। महामहिम राजदूतले संविधान कार्यान्वयनमा भएका काम कारवाही, नेपालको आर्थिक विकासको लक्ष्य, वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवर्द्धन लगायतका विषयमा नेपालले हाल लिएको नीति बारे उल्लेख गर्नुभयो। उहाँले नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा रहेर गरेका कार्यहरू बारे पनि उल्लेख गर्नुभयो। नेपाल-कुवेत बीच रही आएको द्विपक्षीय सुमधुर सम्बन्ध, कुवेतमा नेपालीहरूको उपस्थिति, उनीहरूको योगदानको चर्चा गर्दै नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको पचासौँ वार्षिकोत्सवको सन्दर्भमा भएका कार्यहरू बारे पनि उल्लेख गर्नुभयो।
महामहिम राजदूतले हालैका दिनहरूमा दुई देशबीचको हवाई सेवामा भएको विस्तारले दुवै मुलुक लाभान्वित भएको प्रसङ्ग उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विषयमा मात्र नभई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा सरोकार एवं आपसी हितका विषयमा नेपाल र कुवेतले सहकार्य गरिरहेको विचार व्यक्त गर्नु भयो।
उहाँले यो शुभ अवसरमा कुवेतका महामहिम अमीर, युवराज र प्रधानमन्त्रीलाई उहाँहरूको खुसी तथा सुस्वास्थको कामना गर्दै कुवेती जनताको निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभयो।
कार्यक्रममा कुवेतस्थित कूटनीतिक नियोगका प्रमुखहरू, प्रतिनिधिहरू, व्यापारी समुदायका प्रतिनिधिहरू, सरकारी उच्च अधिकारीहरू, पत्रकार, बुद्धिजीवी लगायत नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूद्वारा नेपाली लोक नृत्य एवं गीतहरू प्रस्तुत गरिएको थियो। उक्त अवसरमा नेपालका प्राकृतिक एवं साँस्कृतिक सम्पदाका तस्विरहरू हलमा सजाउनुका अतिरिक्त संविधान दिवस तथा नेपालको राष्ट्रिय दिवसका सन्दर्भमा तयार पारिएको श्रव्य दृश्य सामग्री प्रस्तुत गरिएको थियो। साथै नेपाली घरेलु उत्पादनका सामग्रीहरू लगायत अन्य नेपाली उत्पादनका वस्तुहरू, पर्यटन प्रवर्द्धनका लागि प्रवर्द्धनात्मक सामग्रीहरूको एक स्टल समेत राखिएको थियो। कार्यक्रमको अन्त्यमा आयोजित रात्रीभोजमा नेपाली खानाका परिकारहरू पनि समावेश गरिएका थिए।
यसै सन्दर्भमा नेपालको आठौँ संविधान दिवसको उपलक्ष्यमा असोज ३ गते (तदनुसार १९ सेप्टेम्बर २०२२) का दिन नेपाली राजदूतावास, कुवेतमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कुवेतका लागि नेपालका महामहिम राजदूत श्री भण्डारीले झण्डोत्तोलन गर्नुभएको थियो। उहाँले नेपालको संविधानको घोषणा, यसका विशेषताहरूको चर्चा गर्दै सबैमा
बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा राजदूतावासका कर्मचारी एवं नेपाली समुदायका सदस्यहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।
आठौँ संविधान दिवस तथा नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास परिसरमा असोज २,३ र ४ गते साँझ दिपावली गरिएको छ।
————————————-
नेपाली राजदूतावास, कुवेत
२१ सेप्टेम्बर २०२२
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/1-1-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/3-1-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/6-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/7-1024x683.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/9-296x300.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/10-300x229.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/11-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/12-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/16-300x189.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/17-300x227.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/18-286x300.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/20-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/21-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/22-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/23-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/24-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/26-300x200.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/27-300x202.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/28-300x220.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/29-300x197.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/30-300x213.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/31-300x172.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/32-300x163.jpg)
![](https://kw.nepalembassy.gov.np/wp-content/uploads/2022/09/33-300x169.jpg)